हाइकन सम्मेलन
काठमाडौँ – स्रोतको अभाव भएका देशहरूमा स्वास्थ्य क्षेत्रको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रविधि, ज्ञान, र नवप्रवर्तनको प्रवर्द्धन गर्ने उद्देश्यसहित हाइकन सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले यस्ता देशहरूलाई स्वास्थ्य एआईको उपभोक्ताबाट उत्पादक बन्ने दिशामा अग्रसर गराउने घोषणा गरेको छ।
हेल्थ एआई फर अल नेटवर्क (हाइनेट) ले गत मंगलबारबाट आयोजना गरेको यस सम्मेलनमा नेपाललगायत विकासशील देशहरूमा स्वास्थ्य सेवाका समस्या पहिचान गरी तिनलाई एआईमार्फत समाधान गर्ने विषयमा व्यापक छलफल भएको थियो। सन् २०२४ को अन्त्यमा स्थापना भएको हाइनेटले पहिलो पटक काठमाडौँमा सम्मेलन आयोजना गरेको हो।
सम्मेलनमा स्वास्थ्य सेवामा एआईले पुर्याउन सक्ने योगदान, मानव स्वास्थ्य सुधारमा यसले खेल्ने भूमिका, र सीमित स्रोत-साधन भएका समुदायहरूमा पनि स्वास्थ्य प्रविधिको पहुँच विस्तार गर्ने उपायहरूमा विशेष ध्यान दिइएको थियो। साथै, स्वास्थ्य एआईलाई विश्वव्यापी सार्वजनिक सम्पत्तिका रूपमा विकास गर्ने सम्भावना, वर्तमान अवस्था, र विकासशील देशहरूले यसलाई कसरी आफ्नो उत्पादनको हिस्सा बनाउन सक्छन् भन्ने विषयमा विज्ञहरूबीच छलफल भएको थियो।
हाइकन सम्मेलन |
विभिन्न देशका विज्ञहरूले स्वास्थ्य प्रणालीमा एआईको एकीकरण, आवश्यक नीतिगत सुधार, तथा सम्भावित चुनौतीहरूका विषयमा कार्यपत्र प्रस्तुत गरे। साथै, स्वास्थ्य एआईको फाइदाबाट कसैलाई पनि वञ्चित हुन नदिन आवश्यक उपायहरूबारे पनि गहन छलफल भयो।
यो सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याट्रिक्स एण्ड इन्फोम्याट्रिक्स (नामी) को सहआयोजनामा सम्पन्न भएको हो। सम्मेलनको आगामी संस्करण अर्को वर्ष युगान्डामा आयोजना हुने तय भएको छ।
No comments:
Post a Comment